
काठमाडौं ।प्रहरीको पहिचान बनाएर व्यक्तिलाई बन्धक बनाई डाँका गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा विराटनगर–८ का २४ वर्षीय समिर हुसेन र विराटनगर–६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।
उनीहरूले रानीस्थित राइस मिल नजिक सिटी सफारीमा सवार एक व्यक्तिलाई रोक्दै आफूहरू मोरङ प्रहरीबाट खटिएको भन्दै सोधपुछ गर्ने बहानामा नियन्त्रणमा लिएका थिए।
दुवैले ती व्यक्तिलाई स्कुटरको बीचमा राखी जबरजस्ती जतुवास्थित एकान्त स्थानमा पुर्याई डर धम्की देखाएर ३ लाख ६४ हजार रुपैयाँ लुटेको आरोप छ।
घटना बुधबार बिहान भएको थियो। पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
हाल उनीहरू विरुद्ध शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा जिल्ला अदालत मोरङबाट म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।