काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा प्रहरीले विभिन्न प्रकारका लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये पाँच जना कैलाली, दुई जना कञ्चनपुर र एक जना दार्चुलाका रहेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–१ मा २४ वर्षीय कमल चौधरीलाई २३० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनको घरमा खानतलासी गर्दा गाँजा बरामद गरेको हो।
त्यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट ३१ वर्षीय दिनेश शाहीलाई ६३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित नियन्त्रणमा लिइएको छ। सोही क्षेत्रबाट २१ वर्षीय खकेन्द्र साउदलाई ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, नाइट्रोजामका तीन क्याप्सुल र स्पाजामका आठ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भजनी नगरपालिका–६ विस्नापुर क्षेत्रमा गरिएको कारबाहीका क्रममा जानकी गाउँपालिका–४ का २० वर्षीय प्रासिस रावत र एक १८ वर्षीय किशोरलाई ३४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित नियन्त्रणमा लिइएको छ।
यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चन्देबाट बैतडीको पुर्चौडी नगरपालिका–८ का ३२ वर्षीय अर्जुन धानुक र पुनर्वास नगरपालिका–२ का २२ वर्षीय आशिष साउदलाई २३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ गरिएको छ। उनीहरू सवार से ६ प ७५९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ३१ वर्षीय सन्तोष बर्मा सुनारलाई ११ ग्राम चरेशजस्तो पदार्थसहित पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।


