काठमाण्डौ — भारतबाट मलद्वारमा लुकाएर लागूऔषध नेपाल भित्र्याउने प्रयासमा रहेका दुई जनालाई प्रहरीले झापाको मेचीनगरस्थित पुरानो मेची पुलबाट पक्राउ गरेको छ।
आइतवार साँझ करिब ६ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट सिटी सफारीमार्फत नेपाल प्रवेश गरिरहेका सर्लाही ईश्वरपुर–४ का ३१ वर्षीय सनम बुर्जा मगरलाई नियन्त्रणमा लिएको हो। शरीर तलासीका क्रममा उनले मलद्वारमा लुकाएर ल्याएको प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम तथा प्लास्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
यसैबीच, सोमवार बिहान करिब ८ बजे सोही स्थानबाट अर्को एक व्यक्ति पनि यस्तै तरिकाले लागूऔषध ल्याउँदै गर्दा पक्राउ परेका छन्। धादिङ गंगाजमुना गाउँपालिका–५ का ४४ वर्षीय प्रकाश अधिकारीलाई प्रहरीले सोधपुछ गर्दा मलद्वारभित्र लुकाइएको प्लास्टिकसहित १० ग्राम ४३० मिलिग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर फेला परेको हो।
दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


