Banner Nepal
महोत्तरीमा १० केजी गाँजासहित दुई युवक पक्राउ

काठमाण्डौ — महोत्तरीको औरही क्षेत्रमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार औरही नगरपालिका–१ स्थित औरही चोकमा नियमित चेकजाँचका क्रममा लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

बिहीबार साँझ उत्तरबाट दक्षिणतर्फ दौडिरहेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १० केजी गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा भारत, बिहार–वैशालीका २७ वर्षीय गोबिन्द राम र २१ वर्षीय एकवाल मोहम्मद छन्। उनीहरूले बोकेको कालो झोलाभित्र प्लास्टिक र डोरीले कसेर लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा भेटिएको प्रहरीले बताएको छ।

बरामद गरिएका लागूऔषध तथा पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ। प्रहरीले यो कारबाहीलाई क्षेत्रीय सुरक्षा मजबुत बनाउने र लागूऔषध नियन्त्रण प्रयासको निरन्तरता भएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update