सप्तरीको तिरहुत गाउँपालिका–२ बडहरास्थित कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजाजस्तो पदार्थ बरामद गरेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले शनिबार साँझ चेकजाँच गर्ने क्रममा कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रोकेर जाँच गर्दा गाँजाजस्तो पदार्थ फेला पारेको हो।
प्रहरीका अनुसार अटोभित्र रहेका तीन वटा सेतो र एक वटा पहेँलो बोरा खोलेर जाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएको छ वटा पोका भेटिएको थियो। ती पोकाको तौल गर्दा प्लास्टिकसहित १ क्विन्टल ११ किलो ८ सय ग्राम गाँजाजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा अटो चालक सप्तरीको कञ्चनरूप नगरपालिका–७ सितापुरका ४२ वर्षीय जामुन महतो र अटोमा सवार सोही स्थानकी २८ वर्षीया कविता कुमारी माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
पक्राउ परेका दुवै जनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुर मुद्दामा सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


