Banner Nepal
नेपालको लगातार तेस्रो जित, इन्डोनेसियामाथि ३७० रनको विजय

काठमाडौँ। एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै शानदार प्रदर्शनलाई निरन्तरता दिएको छ। आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लब मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले विशाल ४२० रन बनाउँदै इन्डोनेसियालाई ३७० रनले पराजित गरेको हो।

इन्डोनेसिया जवाफी ब्याटिङमा २४.३ ओभरमै जम्मा ५० रनमा समेटियो। नेपालका कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभरमा दुई मेडन सहित मात्र १२ रन खर्चिएर ६ विकेट लिएर घातक बलिङ प्रदर्शन गर्नुभयो। शुभम् खनाल र सुगम बुढाथोकीले एक–एक विकेट थपे।

यसअघि नेपालका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे। प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र १ छक्कासहित १३२ रन बनाउँदा, परिमार्जन यादवले मात्र २८ बलमा ८ छक्का र ४ चौकासहित ७१ रन जोडे। रौनक श्रीवास्तवले ८८ र जय थापाले ५७ रन बनाउँदै अर्धशतक पुरा गरे। सुगम बुढाथोकी ३९ रनमा अविजित रहँदा रोशन शाहीले नटआउट १० रन जोडे।

यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। तीन खेलमा तीन जितसँगै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ। अब नेपालले असार १७ गते भुटानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update