
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा देउवरले भाउजुको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको हो ।
मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीको निश्कर्ष छ । हत्या गरेको अभियोगमा देवर नवीन नाथलाई प्रहरीले पक्राउ गरेको छ । नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख थुनेर हत्या गरेको बयान दिएका छन् ।
भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकैको ढुङ्गामुनि लुकाएर राखेको उनले बयानमा भनेका छन् । १६ दिनको नवजात शिशु भने सकुशल छ । हत्या भएको बेलामा घरमा अन्य परिवारका सदस्य नभएको बताइएको छ ।
मृतकका सासुससुरा पहाड गएका थिए भने श्रीमान् रोजगारीका लागि भारतमा थिए।