Banner Nepal
पनौतीमा १४२१ वर्ष पुरानो हिले जात्रा सुरु

पनौतीको ऐतिहासिक हिले जात्रा यस वर्ष पनि परम्परागत रूपमा मनाइँदै छ। १४२१ वर्ष पुरानो यो जात्रा पुण्यमती खोलामा नागको प्रतीकस्वरूप बाँस तेस्र्याएर औपचारिक रूपमा सुरु गरिन्छ।

जात्राको मुख्य आकर्षणमध्ये रथ तान्ने, गैंडु पूजा, विशेष होम, र नगर परिक्रमा पर्दछन्। विशेषगरी महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ भने साँझपख भद्रकालीको रथ तान्दै चक्र पूजा गरिन्छ। पूर्णिमाको दिन भद्रकाली, महादेव, र इन्द्रेश्वरका रथलाई दौडाउन थालिन्छ, अन्त्यमा तीनै रथ एकअर्कासँग जुधाइन्छ।

स्थानीय मान्यता अनुसार, भद्रकाली देवी ६४ योगिनीको रूपमा महादेवलाई लखेट्छिन्, जसले त्रिवेणीमा शरण लिन्छन्। अन्ततः भैरवको रूप धारण गरी महादेवले देवीलाई पछ्याउँछन्, जसको प्रतीकस्वरूप रथ जुधाइ परम्पराको रूपमा रहिआएको छ।

यस जात्रामा घर–घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा पनि जिवन्त छ। जात्रा सकिएपछि भोलिपल्टै रोपाइँ सुरु गरिन्छ। यही अवसरमा पनौती नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update