काठमाडौं ।नेवार समुदायले आज साउन कृष्ण चतुर्दशीका अवसरमा गँठेमंगल पर्व मनाउँदै छन्। यो पर्वमा राक्षसी स्वभावको प्रतीक मानिने घण्टाकर्णको प्रतीकात्मक दहन गरी दुष्टात्मा र भूतप्रेतलाई टाढा राख्ने विश्वास गरिन्छ। त्यसैले यो पर्व घण्टाकर्ण चतुर्दशी नामले पनि चिनिन्छ।
दिनभर नर्कटको बोटबाट बनाईएको गठेमंगललाई साँझ घाम अस्ताएपछि ढालेर नदीमा विसर्जन गरिन्छ। त्यसअघि टोलमा छ्वालीको चिराग बोकेर तीनपटक परिक्रमा गराउने परम्परा पनि रहिआएको छ।
कतिपय स्थानमा विभिन्न ठाउँका गठेमंगल एकत्रित गरेर सामूहिक दहन गरिन्छ। परम्परागत कथनअनुसार, भगवानको नाम सुन्न नचाहने नास्तिक व्यक्ति घण्टा झुण्ड्याएर आतङ्क मच्चाउँथे, जसको प्रतिकात्मक अन्त्यका रूपमा आजको दिन उनको दहन गरिन्छ।
ज्यापू समुदायमा भने गँठेमंगललाई धान रोपाइँपछि आमन्त्रित शक्तिलाई विदाई गर्ने पर्वका रूपमा मनाइन्छ।