Banner Nepal
आज भाइटीका : दिदीबहिनीको आशीर्वाद, दाजुभाइको दीर्घायु कामना

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज देशभर भाइटीका मनाइँदैछ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै श्रद्धा र आस्थाका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिई माया प्रकट गरिरहेका छन्।

हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका यस वर्ष तिथि वृद्धि हुँदा तिहारको छैटौँ दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त साइत शुभ मानिएको छ। यस वर्ष भाइटीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने बताइएको छ, जसले शुभकर्ममा चन्द्रमा सम्मुख हुने शास्त्रीय नियम पूरा गर्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार तिहारमा लगाइने टीकाको रङ्ग परम्परागत रूपमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा हुने उल्लेख शास्त्रमा पाइन्छ। टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, सेलरोटी र मसला जस्ता खानेकुरा दिएर स्नेह प्रकट गर्छन् भने दाजुभाइले पनि गच्छेअनुसार कपडा वा दक्षिणा अर्पण गरेर आभार जनाउँछन्।

दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि आजैका दिन राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परम्परानुसार खुला गरिएको छ। वर्षमा एकपटक मात्रै खुल्ने यो मन्दिरमा श्रद्धालुहरू पूजापाठ र टीका लगाउन पुग्ने गर्दछन्। त्यस्तै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदीबहिनीहरू टीका लगाउने प्रचलन रहिआएको छ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर विसं २०३५ पछि नियमित रूपमा भाइटीकाको दिन खुल्ने परम्परा सुरु भएको हो। नेवार समुदायले यस दिनलाई किजापूजाका रूपमा मनाउने परम्परा रहेको छ भने भक्तपुरका केही नेवार परिवारले यस वर्ष बुधबार नै पूजापाठ सम्पन्न गरेका छन्।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update