Banner Nepal
महानवमीमा सिद्धिदात्री देवीको विशेष पूजाआराधना

काठमाण्डौ । आश्विन शुक्ल नवमीका दिन आज वैदिक सनातनी परम्पराअनुसार नौ दुर्गामध्येकी अन्तिम देवी सिद्धिदात्री को विशेष पूजाआराधना देशभर गरिँदैछ ।

नवरात्रको नवौँ दिनमा विधिपूर्वक पूजिने सिद्धिदात्री देवीलाई मोक्ष प्रदान गर्ने शक्ति भएकाले ‘सिद्धिदायिनी’ समेत भनिन्छ । पुराणका अनुसार ब्रह्माले ऋषि मार्कण्डेयलाई दुर्गाका नौ रूपको नाम बताएको उल्लेख छ, जसको स्मरणले कष्ट र संकटबाट मुक्ति पाइने विश्वास रहिआएको छ ।

यसअघि घटस्थापनादेखि महागौरीसम्मका आठ देवीहरूको आराधना भइसकेको छ । आज नवरात्रको समापनसँगै महानवमीका अवसरमा शक्तिपीठसहित घरघरमा बलीसहित विशेष पूजा गरिन्छ । भक्तजन पूजाआराधना र दर्शनका लागि तीर्थस्थलमा ठूलो संख्यामा पुग्ने परम्परा रहेको छ ।

यसैबीच, विजयादशमी असोज १६ गते बिहीबार परेको छ । दिनभर टीका–प्रसाद ग्रहण गर्न सकिने भए पनि बिहान ११ः५३ को साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्राप्त प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने धार्मिक मान्यता छ ।

यसरी १५ दिनसम्म नेपालीहरूले बडादसैँ पर्व धूमधामका साथ मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update