
काठमाडौं । प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।
शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद अवरोध खुलाउने प्रयासमा दलहरुबीच छलफल भइरहे पनि निकास निस्किएको छैन ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा प्रतिनिधि सभाको यसअघिका बैठक पनि अवरुद्ध भएको थियो । प्रमुख विपक्षी लगायत प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने जनाएका छन् । विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकाल्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ