
काठमाडौं । इस्लाम धर्मावलम्बीले आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् ।
इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाउने गरिन्छ । यसअनुसार नेपाली मुसलमानले आज इद–उल–जोहा मनाउँदैछन् ।
बकरिद पनि भनिने यो पर्वका अवसरमा इस्लाम धर्मावलम्बी बसोबास भएका बस्तीहरुमा चहलपहल बढेको छ । एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) लाई समर्पित गर्दै पशु कुर्वानी दिन्छन् ।
यसलाई कुविचार तथा अहङ्कारको कुर्वानीको प्रतिकात्मक रूपमा बुझ्न सकिने मोल्बीहरू (इस्लाम धर्मगुरू) को भनाइ छ । इस्लाम धर्मावलम्बीले कुर्वानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् ।
आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ । आज कुर्वानी (बलि) का लागि खसी, राँगा जुटाइएका छन् । बक्रइद पर्वमा कुर्वानीका लागि पशु किन्दा मुस्लिमहरू सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिने गर्छन् ।
अल्लाह (ईश्वर) को मन्नत (भाकल, समर्पणका लागि) हुँदा कुर्वानीका लागि किनिने पशुमा मोलमोलाइ गरिनु ठीक नहुने उनीहरुको भनाई छ । आत्मशुद्धि, अल्लाहको पुकारा र अहङ्कारको त्याग यस पर्वका मुख्य सन्देश मानिन्छन् ।