
काठमाडौं । अमेरिकाको भर्जिनियामा दुई बालबालिकासहित चारजना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एकै घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
उनीहरू सबैको गोली प्रहारबाट मृत्यु भएको सीएनएनले जनाएको छ । प्रहरीले हत्यापछि आत्महत्या भएको आशंकामा अनुसन्धान गरिरहेको छ । बिहीबार राति साढे १० बजेतिर प्रहरी टोलीलाई घटनाबारे जानकारी भएको थियो ।
घरधनीले भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सबै भाडामा बस्दै आएका थिए । घरको भुईतलाको अपार्टमेन्टमा बस्दै आएका ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठसँगै २ वर्षिय बालक र ८ वर्षीया बालिकाको शव फेला परेको हो । बालबालिकाको परिचय खुलेको छैन ।
घटनास्थलमा एक थान बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई पारिवारिक हत्याको रूपमा लिएको छ । प्रहरीले घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ । तर गोली कसले चलायो भन्ने खुलेको छैन । छिमेकीहरूले उनीहरु करिब ६ महिना अघि त्यहाँ बसाइँ सरेर आएको बताएका छन् । मानेसास पार्क उत्तर भर्जिनियाको एउटा सहर हो ।