 
                                                                    अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार अन्नपूर्ण गाउँपालिका–४ स्थित आधार शिविर जाँदैछन्।
चार हजार एक सय ९० मिटर उचाइमा रहेको शिविरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, फ्रान्सकी राजदूत भिर्जिनी कोर्ताभाल र ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजा सहभागी हुनेछन्।
प्रधानमन्त्रीले प्रथम आरोही मौरिस हर्जोग, लुइस लाचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गर्नुका साथै खुला संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ।
करीब ३० मिनेटको कार्यक्रमपछि ओलीको टोली नारच्याङको बेंसी गाउँमा जारी अन्नपूर्ण हीरक महोत्सवको मुख्य समारोहमा सहभागी हुनेछ।
७५ वर्षअघि यही दिन (जेठ २०, सन् १९५०) फ्रान्सेली टोलीले पहिलो पटक अन्नपूर्ण हिमाल चढेको सम्झनामा हीरक महोत्सव आयोजना गरिएको हो। अन्नपूर्ण गाउँपालिकाको अगुवाइमा शुरु भएको महोत्सवले ओझेलमा परेको पर्यटकीय क्षेत्रलाई पुन: उजागर गर्ने अपेक्षा गरिएको छ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    