
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीमाथि अवैध सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनलाई १ करोड ८ लाख ३८ हजार रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै मुद्दा हालेको हो।
आयोगले सोडारीकी पत्नी गीता र छोरा बबी सोडारीलाई समेत प्रतिवादी बनाएको छ। अनुसन्धानमा देखिएको छ कि सोडारीले केही सम्पत्ति आफ्ना परिवारको नाममा राखेका थिए, जसका कारण ती सम्पत्ति जफतका लागि उनीहरूलाई पनि मुद्दामा समेटिएको हो।
सोडारी हाल निलम्बित अवस्थामा छन्। उनी २०७९ को निर्वाचनमा कैलाली–४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। एमालेबाट राजनीतिमा सक्रिय रहेका उनी २०७८ मा पार्टी विभाजनपछि एकीकृत समाजवादीतर्फ लागेका थिए।
पछिल्ला वर्षहरूमा उनी सुदूरपश्चिम प्रदेशमा सामाजिक विकासमन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री, संसदीय दलका नेता हुँदै २०८१ वैशाखमा चार दलको समर्थनमा मुख्यमन्त्रीसमेत बनेका थिए। तर, सत्ता समीकरण परिवर्तन भएसँगै उनले साउन १८ मा पदबाट राजीनामा दिएका थिए।
अख्तियारले ७ माघ २०७४ देखि १० फागुन २०७९ सम्मको अवधिमा सोडारी र उनका परिवारको नाममा रहेको चल–अचल सम्पत्तिको विवरण खोतलेको थियो। सो अवधिमा उनीहरूको नाममा १ करोड ९३ लाखभन्दा बढी मूल्यको सम्पत्ति भेटिएको छ। तर, वैधानिक आयको प्रमाण केवल ८५ लाख रुपैयाँ जति मात्र पुष्टि भएको छ। बाँकी १ करोड ८ लाखभन्दा बढी सम्पत्तिको स्रोत अस्पष्ट भएको भन्दै बिगो कायम गरिएको हो।
अभियोगपत्र अनुसार सोडारीको तलब, भत्ता, कृषि आय, श्रीमती र छोराको आय तथा अन्य पारिवारिक आम्दानी मिलाएर पनि कुल आय खर्चभन्दा निकै कम देखिएको छ। उनले घर निर्माण, जग्गा खरिद, चुनाव खर्च, पारिवारिक विवाह तथा लगानीका शीर्षकमा गरेको खर्च आफ्नो आम्दानीभन्दा धेरै भएको देखिएको छ।
अख्तियारको निष्कर्ष छ— सार्वजनिक पदमा रहँदा उनले आफ्नो हैसियतको दुरुपयोग गरी अस्वाभाविक रूपमा ठूलो सम्पत्ति जोडेका छन्, जुन वैधानिक आय स्रोतबाट पुष्टि हुन सकेन।