
काठमाडौं । मङ्गलबार संघीय संसद्को दुबै सदनको बैठक बस्न गइरहेको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले "आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित राजस्व र खर्चसम्बन्धी वार्षिक विवरणमाथि सामान्य छलफल गरियोस्" भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले "संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२" पेश गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित आएको "भन्सार विधेयक, २०८०" माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले "शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०" सम्बन्धमा प्रतिनिधिसभाबाट आएको संशोधनमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, "प्रतिनिधिसभाबाट प्राप्त संशोधनलाई सहमति गरियोस्" भन्ने प्रस्ताव पनि राष्ट्रियसभामा पेस गरिनेछ।