
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ ।
आज ललितपुरको जावलाखेल चोकमा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आज भोटो देखाइने भएको हो ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । भोटो देखाउने जात्रा सम्पत्र भएपछि सोही दिन साँझ नै खटमा राखेर मच्छिन्द्रनाथलाई बुङमती पुर्याउने परम्परा छ ।
परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।