Banner Nepal
‘रैथाने’ कोदोको कथा: बजारमा चर्चा, किसानको बेवास्ता

काठमाडौँ, साउन १९ — सरकारले यस वर्ष पहिलोपटक राष्ट्रिय कोदो दिवस मनायो। कोदोजन्य बालीको आयात नियन्त्रण गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, साथै पोषण र खाद्य सुरक्षालाई टेवा पुर्‍याउने उद्देश्यसहित दिवस मनाइएको हो।

कार्यक्रममार्फत सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा ‘भोजनलिपि स्वाद’को पाँचौँ संस्करणअन्तर्गत कोदोबाट बनाइएका १० परिकार प्रदर्शन गरिने जानकारी आयोजकले दिएका छन्। कोदोका परिकारलाई ‘नेपाली रैथाने स्वाद’को नाममा होटल र रेष्टुराँमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिँदैछ।

तर, एकातिर तारे होटल र सिंहदरबारमा कोदोका परिकार बनाएर प्रदर्शन भइरहँदा अर्कोतिर कोदो उत्पादनमा संलग्न किसान भने बीउ अभाव, मूल्य असमानता, र बजार पहुँच नपाएर संकटमा छन्।

बजारमा परिकार, बारीमा उपेक्षा

कोदो  गरिबी र जाँडसँग मात्र जोडिएको अन्नका रूपमा चिनिन्थ्यो। तर पछिल्ला वर्षमा शहरीकरणसँगै यसको पहिचान बदलिँदै गएको छ। अहिले कोदोका परिकार ‘अर्गानिक’ नाममा होटलहरूमा सजिलै पाइन्छन्।

बजारमा सेलरोटी, ढिँडो, हलुवा, पिटो आदि परिकारको रूपमा उपभोग बढे पनि उत्पादन गर्ने किसान भने कोदो खेतीबाट विमुख हुँदै गएका छन्। स्थानीय अन्नलाई सरकारले नीतिगत प्राथमिकता नदिएको र बीउबिजन अभावमा किसानले कोदो छाड्न बाध्य भएको उनीहरू बताउँछन्।

बढ्दो आयात, घट्दो उत्पादकत्व

कृषि विभागका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य बाली आयात भएको छ, जसको मूल्य ७६ करोड ५९ लाख रुपैयाँ बराबर पुगेको छ।

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा कोदो र यसको बीउ आयातमा निरन्तर वृद्धि देखिएको छ। उदाहरणस्वरूप, २०७७/७८ मा ७२ करोड रुपैयाँभन्दा बढीको कोदो आयात भएको थियो, भने सोही वर्ष ६ करोड ३३ लाख रुपैयाँ बराबरको कोदो बीउ भित्रिएको थियो।

तर, राष्ट्रिय उत्पादन भने स्थिर देखिन्छ। २०७१ सालमा २ लाख ६७ हजार हेक्टरमा कोदो खेती गरी ३ लाख ८ हजार मेट्रिक टन उत्पादन भएको थियो। २०७९ सम्म आइपुग्दा उत्पादकत्व मात्र १.१५ टनबाट १.२७ टन प्रतिहेक्टरमा पुगेको छ।

कृषिमा प्राथमिकता नपाएको कोदो

हरितक्रान्तिपछि धान, गहुँ, मकै जस्ता बालीहरूमा सरकारको ध्यान केन्द्रित भएकोमा किसानहरूले गुनासो गरेका छन्। कोदो, चिनो, कागुनो, जुनेलो जस्ता रैथाने बालीहरू उत्पादन गर्न सकिने क्षमतामा हुँदाहुँदै किसानले आवश्यक सहयोग नपाएको उनीहरूको भनाइ छ।

कृषि मन्त्रालयका अनुसार, कोदो नेपालको कुल खाद्यान्न बालीको ७.७ प्रतिशत क्षेत्रफल ओगट्ने बाली हो, तर यसको करिब ९५ प्रतिशत खेती पहाडी क्षेत्रमा मात्र सीमित छ। जलवायुमैत्री, रासायनिक मल तथा सिँचाइको न्यूनतम प्रयोगमा फल्न सक्ने कोदोबालीले जलवायु संकट न्यूनीकरणमा समेत योगदान पुर्‍याउन सक्छ।

रैथाने परिकारको व्यापार, किसानको हिस्सेदारी शून्य

स्टार होटल, रेष्टुराँ र होमस्टेमा ‘रैथाने’ भन्दै कोदो परिकार बिकिरहेका छन्। तर, किसानले उत्पादन गरिरहेको कोदो मदिरा उत्पादनमा प्रयोग भैरहेको र होटलहरूमा प्रयोग हुने अधिकांश कोदो आयात गरिएको तथ्यले प्रश्न उठाएको छ।

सरकारले रैथाने बाली प्रवर्द्धनको नारा त लगाउँछ, तर किसानले बीउ समेत समयमा नपाउने अवस्था विद्यमान छ। विशेषज्ञ, नीति निर्माताहरू र कार्यक्रम आयोजकहरूले परिकार प्रदर्शनमा केन्द्रित हुँदा उत्पादन सञ्जालमा पर्ने असरबारे गम्भीर चिन्तन नगरेको देखिन्छ।

राष्ट्रिय दिवसको औपचारिकता, प्रदर्शन र रटानले मात्र रैथाने बालीको संरक्षण सम्भव छैन। आवश्यकता के हो भने— बीउ, प्राविधिक जानकारी, अनुदान र बजार सुनिश्चितता।

‘रैथाने’ नाममा होटलको मेनु बनाउनु सजिलो होला, तर किसानको बारीसम्म नपुगेको त्यो कार्यक्रमले दीर्घकालीन समाधान दिन सक्दैन। कोदो दिवसको सार्थकता तभी देखिन्छ, जब उत्पादन बढ्छ र किसानको जीवनस्तरमा सुधार आउँछ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update