Banner Nepal
सुर्खेतमा सैनिक अवकाशप्राप्त पुरुषद्वारा श्रीमतीको हत्या, ‘सैतान देखेँ’ भन्दै कबुल

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा आइतबार बिहान आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा दानसिंह ठाडामगरलाई प्रहरीले पक्राउ गरेको छ।

४२ वर्षीय ठाडामगरले ४१ वर्षीया श्रीमती रविना थापामगरको टाउकोमा काठ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटना भएपछि उनले दुबईमा रहेका छोरा, जापानमा रहेकी छोरी र प्रहरीलाई फोन गरेर आफैंले हत्या गरेको बताएका थिए।

हत्या गर्नुअघि ठाडामगरले स्थानीय वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरेर प्रहरीको सम्पर्क नम्बर मागेका थिए। वडाध्यक्ष कोइरालाका अनुसार उनले हत्या भएकोबारे भने तत्काल केही खुलाएका थिएनन्।

हत्या भएको जानकारी पाएपछि नगर प्रहरी र करे खोला प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल पुगेर शव उठाएर पोष्टमार्टमका लागि प्रदेश अस्पताल पुर्‍याएको हो। ठाडामगरलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो ठाडामगरका बुवाआमा घर आएका थिए र परिवारसँग सामान्य गफगाफपछि फर्किएका थिए। बेलुका श्रीमान–श्रीमती सँगै पल्टिएर मोबाइल हेर्दै थिए, सोही क्रममा रविना निदाएपछि दानसिंहले खाटको खुट्टामा प्रयोग हुने काठ प्रयोग गरेर टाउकोमा हिर्काएर हत्या गरेका हुन्।

नेपाली सेनाबाट अवकाश प्राप्त ठाडामगरका एक छोरा दुबई, एक छोरी जापान र अर्की छोरी सुर्खेतमै छन्। विगतमा मदिरा सेवन गर्ने गरे पनि पछिल्लो एक सातायता मदिरा सेवन नगरेको वडाध्यक्ष कोइरालाले जानकारी दिए। हत्या गर्नुभएको कारण खुल्न बाँकी रहे पनि ठाडामगरले आफू “सैतान देखेर हानेको” भनेर प्रतिक्रिया दिएको वडाध्यक्षले बताएका छन्।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update