Banner Nepal
नेपाल–कुवेत द्विपक्षीय क्रिकेट शृंखला २०२६ देखि; महिला–पुरुष दुवै टोली सहभागी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच महिला र पुरुष दुवै तह समेटिने द्विपक्षीय क्रिकेट शृंखला आयोजना गर्न सैद्धान्तिक सहमति भएको छ। यो सहकार्य २०२६ बाट लागू हुनेछ।

सहमति अनुसार हरेक वर्ष ‘होम एन्ड अवे’ मोडेलमा कम्तीमा तीन टी–२० खेल हुनेछ, साथै थप ५० ओभरको खेल पनि समावेश गरिनेछ। क्यान र कुवेत क्रिकेट बोर्डका अनुसार आसन्न अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप एसिया तथा एसिया–प्यासिफिक छनोटमा दुबै टोली एउटै समूहमा रहेकाले यो साझेदारीका लागि अनुकूल समय हो।

क्यानले यस रणनीतिक भागीदारीले क्षेत्रका एसोसिएट राष्ट्रबीच अन्तर्राष्ट्रिय खेल अनुभव विस्तार गर्ने, प्रतिस्पर्धात्मक स्तर उकास्ने र एसियाली क्रिकेट विकासतर्फ कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेको छ। नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागितामार्फत आफ्नो क्षमताको प्रदर्शन गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update