काठमाडौं । कोठा भाडामा लिएर अवैध लागुऔषध कारोबार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उपत्यकाका फरक स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–३ की ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले बसोबास गर्ने कोठा बाहेक अलग कोठा भाडामा लिएर त्यहाँ लागुऔषध लुकाएर राख्ने र कारोबार गर्ने गरेका थिए। ब्यूरोका प्रवक्ता एसपी जनकबहादुर शाहीका अनुसार राईले बालाजुस्थित गंगाहल नजिकको कोठामा लुकाएर राखेको अवस्थामा ३५ हजार ५९० ट्रामाडोल क्याप्सुल र साढे १२ किलो गाँजा फेला परेको हो।
त्यस्तै, कुंगा र पदमको डेराबाट बुप्रेनोर्फिन, डाइजापाम र फेनार्गन गरी ३१ हजार १०१ एम्पुल लागुऔषध बरामद गरिएको छ। हाल पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।