Banner Nepal
सीमापार अपराध फेरि सतहमा, भारतीय लुटेरा धनुषामा पक्राउ

काठमाडौँ । नेपाल–भारत खुला सीमा हुँदै हुने आपराधिक गतिविधिहरू पुनः सुरक्षा चुनौतीका रूपमा सतहमा आएका छन्। पछिल्लो घटना धनुषामा देखिएको छ, जहाँ सीमापारबाट नेपाल प्रवेश गरी लुटपाट गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति भारतको बिहारस्थित मधुबनी जिल्ला, देवधा–८ का २३ वर्षीय विजय मुखिया हुन्। उनलाई असार २० गते जनकनन्दनी गाउँपालिका–१ का अजयकुमार गोइतलाई पेस्तोल देखाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धान अनुसार, गोइत बैंकमा नगद जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर २ लाख १६ हजार नगद, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेका थिए।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखियालाई ‘पेशागत अपराधी’को रूपमा चिनाउँदै बताएअनुसार भारतमै उनको विरुद्ध ९–१० आपराधिक मुद्दा दर्ता छन्। रेग्मीले खुला सीमाको दुरुपयोग गरी अपराध गरी एक देशबाट अर्कोतर्फ भाग्ने प्रवृत्ति बढिरहेको र यो नेपाल–भारत दुवैका लागि सुरक्षा चुनौती भएको बताए।

स्थानीय बासिन्दाहरूले पनि सीमावर्ती क्षेत्रमा सुरक्षाको अनुभूति नगरेको गुनासो गर्दै, अपराध नियन्त्रण गर्न सीमा निगरानी कडा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update