
काठमाडौँ । गुल्मीको बुट्टारमा एक दर्दनाक घटनामा पूर्वपतिको चक्कु प्रहारबाट पूर्वपत्नीको ज्यान गएको छ। मंगलबार बिहान १०:१० बजे रुक्मणी परियारको हत्या भएको पुष्टि गरिएको छ।
उक्त दिन रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्। डिलाका अनुसार, उनका देवर लिलबहादुर परियारले फोन गरेर रुक्मणीलाई बोलाए र घरभित्र लगेर चक्कु प्रहार गरी हत्या गरे।
“मैले कराएँ, रोकेँ, तर उनले नसुनेर आँखै अगाडि हत्या गरे,” डिलाले घटना सम्झिँदै बताइन्।
इजरायलमा काम गरिरहेका लिलबहादुर असार २४ गते मात्र नेपाल फर्किएका थिए। स्थानीय अनुसार, रुक्मणीले गत वैशाखमा दीपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दीपक १५ दिनअघि कामका लागि संखुवासभा गएका थिए।
रुक्मणी र लिलबहादुरका एक छोरा र एक छोरी छन्, जो हाल आमा गुमाएका र बुबा प्रहरी नियन्त्रणमा परेकाले विचल्लीमा परेका छन्।
घटनापछि बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले लिलबहादुरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनास्थल सुरक्षित गरिएको छ र प्रारम्भिक अनुसन्धानले घटना पूर्ववैवाहिक रिसइवीका कारण भएको देखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।