
काठमाडौं । बिहीबार, सेयर बजार ४ महिनाको उच्चतम अंकमा पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१ को स्तरमा पुगेको हो, जुन २८ फागुनपछिको उच्चतम स्तर हो।
यस दिन सेयर बजारमा कारोबार रकम पनि उल्लेखनीय रुपमा बढेर ९ अर्ब ६८ करोड पुग्यो, जबकि अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएको थियो।
१६१ कम्पनीका सेयर मूल्य बढेका छन् भने ८७ कम्पनीका मूल्य घटेका छन्। वाणिज्य बैंकहरूको सेयरमा विशेष आकर्षण देखिएको छ, जसको समूहमा ३.०२ प्रतिशतको वृद्धि भएको छ।
विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य सबै समूहहरूमा सकारात्मक वृद्धि देखिएको छ।
माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ८.१५ प्रतिशतले बढ्यो। त्यस्तै, सानिमा बैंक, एसबीआई, लक्ष्मी, सिद्धार्थ र प्राइम कमर्सियल बैंकका मूल्यमा पनि ३.४५ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।
तर, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९ प्रतिशत घटेको छ। रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स रहेका छन्।
बजारको पूँजीकरण ४५ खर्ब ५१ अर्ब पुगेको छ।