Banner Nepal
रवि–बालेन सहमतिले सेयर बजारमा उत्साह, नेप्से उकालो

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। लामो समयदेखि राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश बनेका लगानीकर्ता नयाँ राजनीतिक शक्तिबीचको सहमतिपछि आशावादी देखिएका हुन्।

आगामी दिनमा बालेन प्रधानमन्त्री र रवि लामिछाने पार्टी अध्यक्ष रहने समझदारीले राजनीतिक स्थिरताको सम्भावना बढाएको विश्लेषण सुरु भएको छ। यसले अन्योलपूर्ण राजनीतिक वातावरण क्रमशः सकारात्मक दिशातर्फ मोडिएको संकेत गरेको छ। साथै आगामी २१ फागुनमा संसदीय निर्वाचनको सम्भावना बढेपछि सेयर बजारमा उत्साह थपिएको देखिएको छ।

यही पृष्ठभूमिमा आइतबार सेयर बजार परिसूचक नेप्से करिब २ प्रतिशतले बढेको छ। कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से ४७.५५ अंकले उक्लँदै २६३३.४२ अंकमा पुगेको हो। बजार खुलेदेखि नै अधिकांश सूचीकृत कम्पनीको सेयर मूल्यमा सुधार आएपछि समग्र सूचक उच्च अंकले बढेको बताइएको छ।

नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। आइतबार ३२८ कम्पनीका १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २५९ कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँमा किनबेच भएका छन्, जुन गत साता बुधबारको तुलनामा निकै बढी हो। उक्त दिन कारोबार रकम ३ अर्ब १९ करोड रुपैयाँमा सीमित थियो।

आइतबार कारोबार भएकामध्ये २३८ कम्पनीको सेयर मूल्य बढेको छ। मिडिल सोलु हाइड्रोपावर कम्पनीको सेयर ९.४९ प्रतिशतले उक्लिँदा विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ। विश्लेषकहरूका अनुसार राजनीतिक वातावरण सकारात्मक बन्दै गए आगामी दिनमा पनि सेयर बजारमा सुधारको क्रम जारी रहने संकेत देखिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update