Banner Nepal
एक हप्तामा तेस्रो प्रधानमन्त्री: थाइल्यान्डमा फेरि सत्ता परिवर्तन

काठमाडौँ। संवैधानिक अदालतको निर्णयपछि उत्पन्न राजनीतिक अन्योलका बीच थाइल्यान्डले बिहीबार एक साताभित्र तेस्रो पटक नयाँ व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा देखेको छ। अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई नैतिकता अनुसन्धान जारी रहेको भन्दै पदबाट निलम्बन गरेपछि राजाले नयाँ मन्त्रिपरिषद्लाई सपथ गराएका हुन्।

ट्रान्सपोर्ट मन्त्री तथा उपप्रधानमन्त्री सुरिया जुङरुङराङकिटले अल्पकालीन रूपमा कार्यभार सम्हालेका थिए, तर उनले एक दिनमात्र पूर्ण रूपमा काम गर्न पाएका थिए।

नयाँ सरकार गठनसँगै पूर्व रक्षामन्त्री फुमथाम वेचायाचाईलाई गृहमन्त्रीको रूपमा सपथ गराइएको छ। उनी उपप्रधानमन्त्रीको रूपमा उच्च श्रेणीमा रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि पाएका छन्। सरकारले सार्वजनिक गरेको विज्ञप्तिअनुसार नयाँ मन्त्रिपरिषद्ले पहिलो बैठकमै उनको कार्यवाहक भूमिकालाई स्वीकृति दिएको हो।

पेटोङटार्नले पदबाट हटिनुअघि आफूलाई संस्कृतिमन्त्रीको रूपमा नयाँ मन्त्रिपरिषद्मा समेटेका थिए, जसले उनी अझै सत्ताको वरिपरि रहेको संकेत गर्छ।

यो राजनीतिक उतारचढाव त्यस्तो बेला आएको हो जब थाई सरकारले विभाजित अर्थतन्त्र पुनःस्थापित गर्ने र अमेरिकासँगको व्यापार सम्झौतालाई जोगाउने प्रयास गर्दै आएको छ। विशेष गरी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ३६ प्रतिशत भन्सार शुल्कको सम्भावित असरले सरकारलाई दबाबमा राखेको छ।

फुमथाम, जसलाई थाक्सिन सिनावात्रा र पेटोङटार्न दुवैका नजिकका विश्वासपात्र मानिन्छ, अघिल्लो मन्त्रिपरिषद्हरूमा रक्षा र वाणिज्य मन्त्रालय सम्हालिसकेका छन्। ७१ वर्षीय फुमथामको राजनीतिक यात्रा सन् १९७० को दशकको वामपन्थी विद्यार्थी आन्दोलनसँग जोडिएको छ। त्यस समयदेखि ‘बिग कमरेड’ उपनाम पाएका उनले पछि थाक्सिनको टेलिकम क्षेत्रमा काम गर्दै राजनीतिमा सक्रियता बढाएका थिए।

यसबीच, पेटोङटार्न थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवादका कारण आलोचना खेपिरहेका छन्। एक कूटनीतिक फोन कलमा कम्बोडियाका पूर्व नेता हुन सेनलाई ‘काका’ र एक थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेपछि सार्वजनिक प्रतिक्रिया चर्किएको थियो।

कम्बोडियामैत्री व्यवहार र सेनाप्रति कमजोर देखिएको भन्दै एक रुढीवादी पार्टीले पेटोङटार्नको गठबन्धन त्यागेको छ। अदालतले उनको कूटनीतिक आचरणप्रति नैतिकता उल्लङ्घनको सम्भावना देखिएको भन्दै निलम्बनको निर्णय सुनाएको हो।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update