Banner Nepal
शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

काठमाडौं ।  बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा ६ महिनाको कैद सजाय सुनाएको छ। न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार फैसला सुनाएको हो।

अवामी लिगकी अपदस्थ नेतृ समेत रहेकी हसिनासँगै गोविन्दगञ्ज, गाइबान्धाका शाकिल आकन्द बुलबुललाई पनि सोही मुद्दामा दुई महिनाको जेल सजाय सुनाइएको छ।

शेख हसिनाले अघिल्लो वर्ष, अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ढाका छाडेकी थिइन्। सो दिन राजधानीमा जारी कर्फ्युको उल्लंघन गर्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

यसअघि, २०२५ को जुनमा शेख हसिनामाथि 'मानवता विरुद्धका अपराध' को आरोप सार्वजनिक गरिएको थियो। अभियोजन पक्षका अनुसार, २०२४ को जुलाईमा भएको जनविद्रोहका क्रममा भएका सामूहिक हत्याका घटनामा हसिनाले प्रत्यक्ष भूमिका खेलेकी थिइन्।

मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको टोलीले अदालतमा बुझाएको अभियोगपत्रमा हसिनालाई जुलाई–अगस्ट २०२४ का हिंसात्मक दमन र मानवाधिकार उल्लंघनका प्रमुख योजनाकारको रूपमा चित्रित गरिएको छ।

शेख हसिना हाल बंगलादेश बाहिर रहेकी छन्।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update