
काठमाडौं । थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार पदबाट निलम्बन गरेको छ। कम्बोडियासँगको सीमा विवादमा विवादास्पद अभिव्यक्तिपछि अदालतले उहाँमाथि अनुसन्धान अघि बढाएको हो।
राजनीतिक रूपले सधैं विवादमा रहने सिनावात्रा परिवार र थाइल्यान्डका रूढीवादी, शाहीपन्थी तथा सैन्य समर्थक शक्तिहरूबीचको दीर्घकालीन द्वन्द्व फेरि चर्किएको छ।
प्रधानमन्त्री बनेको एक वर्ष नपुग्दै ३८ वर्षीया पेटोङटार्नलाई निलम्बन गरिएको हो। खासगरी कम्बोडियाका पूर्व नेता हुन सेनलाई ‘काका’ र एक थाई सेनापतिलाई ‘प्रतिद्वन्द्वी’ भनेको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको थियो।
गत मे महिनामा भएको झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि सीमा तनाव झनै पेचिलो बनेको थियो। संसदका रूढीवादी सदस्यहरूले पेटोङटार्नले विदेशी शक्ति सामु झुकेको र सेनाको गरिमा घटाएको आरोप लगाए।
संवैधानिक प्रावधान अनुसार मन्त्रीहरूको आचरणमा स्पष्ट नैतिकता र इमानदारी अपेक्षित हुने हुँदा, अदालतले उहाँमाथि अनुशन्धान थाल्दै निलम्बन आदेश दिएको हो।
अदालतको निर्णय अनुसार, "७–२ को बहुमतले पेटोङटार्नलाई जुलाई १ देखि प्रधानमन्त्रीको कार्यभारबाट हटाइएको छ र अन्तिम निर्णय नआएसम्म उहाँ पदमा रहन सक्नुहुन्न।"