Banner Nepal
चीनमा एससीओ बैठक: अमेरिकाको प्रभावलाई सन्तुलन गर्ने प्रयास

काठमाडौं । युरोपमा नेटो राष्ट्रहरूको शिखर सम्मेलन र मध्यपूर्वमा युद्धविरामको पृष्ठभूमिमा चीनले इरान, रुस, भारत लगायत देशका रक्षामन्त्रीहरूलाई बिहीबार किङदाओमा आयोजित एससीओ (साङ्घाई कोअपरेसन अर्गनाइजेसन) को बैठकमा आमन्त्रण गरेको छ। सम्मेलनमा क्षेत्रीय स्थायित्व, सुरक्षासम्बन्धी सहयोग र शक्ति सन्तुलनबारे छलफल भएको छ।

चीन लामो समयदेखि एससीओलाई पश्चिमी सैन्य गठबन्धनको विकल्पका रूपमा स्थापित गर्न चाहन्छ। इजरायल–इरान युद्धविरामको बिचमा आयोजना गरिएको यो बैठकले चीनको कूटनीतिक सक्रियतालाई नयाँ सन्देश दिएको छ। बैठकमा चीनका रक्षामन्त्री डोङ जुनले एससीओले अस्थिर विश्वमा स्थायित्वको भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

रुसका रक्षामन्त्री आन्द्रेई बेलोसोभले विश्वको राजनीतिक र सैन्य अवस्था ‘अझै जटिल बन्दै गएको’ उल्लेख गर्दै पश्चिमबाट बढ्दो दबाबको आलोचना गरे। चीनले भने युक्रेन युद्धमा आफूलाई तटस्थ देखाए पनि पश्चिमी मुलुकहरूले मस्कोसँगको उसका सम्बन्धप्रति आलोचना गर्दै आएका छन्।

बैठकमा इरानका रक्षामन्त्रीसँग चीनले सुरक्षा सम्बन्ध र सम्भावित हतियार आपूर्तिबारे छलफल गरेको अनुमान गरिए पनि प्राध्यापक एन्ड्रिया घिसेलीका अनुसार चीन त्यस्तो कदम चाल्न हिचकिचाउनेछ, किनभने त्यसले अमेरिका र इजरायल दुबैलाई उत्तेजित गर्न सक्छ। चीन हाल अमेरिकासँगको सम्बन्धलाई स्थिर बनाउने रणनीतिमा देखिन्छ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि बैठकमा भाग लिँदै एससीओ सदस्य राष्ट्रहरूले साझा सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले सामाजिक सञ्जालमार्फत भने, “हामी आमूल परिवर्तन भइरहेको युगमा छौं, जहाँ वैश्वीकरणको गति सुस्त हुँदै गएको छ।”

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update