Banner Nepal
कतारको आकास खुला, जनजीवन सामान्य

काठमाण्डौ ।अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै इरानले मिसाइल प्रहार गरेपछि बन्द गरिएको कतारको आकाश मार्ग मंगलबार मध्यरातदेखि पुनः सञ्चालनमा आएको छ। स्थिति सामान्य हुँदै गएसँगै कतारले पुनः हवाई उडानहरू अनुमति दिएको हो।

इरानले सोमबार साँझ दोहास्थित अमेरिकी सैन्य अड्डा 'अल उदिद'मा मिसाइल आक्रमण गरेपछि कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो। यस कारण धेरै यात्रुहरु विमानस्थलहरूमा अलपत्र परे, कतिपय उडानहरू अन्यत्र डाइभर्ट गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कतिपय यात्रुहरू रात बिताउन बाध्य भए।

कतारको रक्षा मन्त्रालय अनुसार ६ वटा मिसाइलमध्ये एक सैन्य अड्डाभित्र खसेको र अन्यलाई निष्क्रिय बनाइएको हो। घटनाबाट ठूलो क्षति नभए पनि केही स्थानमा सामान्य आगलागी भएको थियो, जुन तुरुन्त नियन्त्रणमा लिइएको थियो।

कतारका अधिकारीहरूका अनुसार हाल जनजीवन सामान्य अवस्थामा फर्किएको छ। कतारको परराष्ट्र मन्त्रालयले देशको सुरक्षालाई असर नपुर्ने र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको स्पष्ट पारेको छ। साथै, आक्रमणलाई सार्वभौमिकताको उल्लंघन भन्दै कतारले कडा आपत्ति जनाएको छ र अन्तर्राष्ट्रिय कानुन अनुसार जवाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।

यसैबीच कतारले हाल गाजा द्वन्द्वमा हमास र इजरायलबीच वार्ता र बन्दी साटासाटका लागि भूमिका खेलिरहेको अवस्थामा यस्तो आक्रमण हुनु आश्चर्यजनक भएको प्रतिक्रिया दिएको छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update