
काठमाण्डौ । इजरायल र इरानबीच चर्किएको सैन्य द्वन्द्वका कारण प्रभावित नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिँदै सरकार उद्धार र स्वदेश फिर्ती प्रक्रियामा सक्रिय बनेको छ। इरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ। भारत सरकारको समन्वयमा त्यहाँस्थित भारतीय दूतावासको सहयोगबाट यो प्रक्रिया अघि बढाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अर्कातर्फ, अध्यागमन सम्बन्धी मुद्दाका कारण इरानमा थुनामा परेका बाँकी पाँच नेपालीलाई फिर्ता ल्याउन आवश्यक कागजी प्रक्रिया पुरा गर्न दोहास्थित नेपाली दूतावासले पहल गरिरहेको छ।
इजरायलमा रहेका नेपालीहरूको उद्धारको तयारीस्वरूप विवरण सङ्कलन भइरहेको छ। अनलाइन दर्तामार्फत हालसम्म ८८५ जनाले नाम टिपाएका छन् भने थप दर्ता जारी रहेको छ। द्वन्द्व सुरु भएपछि बन्द भएका उडानहरूका कारण सीमावर्ती मुलुकतर्फ जान चाहने नेपालीलाई आवश्यक कागजात तथा भिसा उपलब्ध गराउने निर्देशन खाडी क्षेत्रका नेपाली दूतावासहरूलाई दिइएको छ।
जोर्डन सरकारले आफ्नो मुलुकमा जान चाहने नेपालीका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार, इजरायल–इरान द्वन्द्वको सुरुवातदेखि नै नेपालले ती देशहरूमा रहेका आफ्ना नागरिकहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै काम गरिरहेको छ।
प्रतिनिधिसभामा बोल्दै मन्त्री राणाले इरानमा सीमित सङ्ख्यामा रहेका नेपालीहरूलाई भारतीय दूतावासको माध्यमबाट उद्धार गरिएको र इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न विवरण संकलनसँगै उद्धार तयारी पनि सुरु गरिएको स्पष्ट पारिन्। साथै, इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीबारे अझै ठोस जानकारी नआएको भन्दै उनको रिहाइका लागि निरन्तर कूटनीतिक पहल भइरहेको जानकारी दिइन्।