Banner Nepal
इजरायली नौसेनाद्वारा गाजा जाँदै गरेको सहायता पानीजहाज नियन्त्रणमा, ग्रेटा थनबर्ग पक्राउ

आज बिहान इजरायली नौसेनाले गाजा पट्टीतर्फ जाँदै गरेको ब्रिटिस झण्डा बोकेको सहायता पानीजहाज मेडलिन लाई रोक्दै नियन्त्रणमा लिएको छ।

उक्त जहाजमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग र फ्रेन्च यूरोपेली सांसद रिमा हसनसहित १२ जना सवार थिए। मेडलिन लाई गाजामा मानवीय राहत सामग्री पुर्‍याउने तथा त्यहाँको संकटप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने उद्देश्य थियो। जहाजमा बच्चाहरूको दूध, खाना र औषधी सामग्री रहेको जनाइएको छ।

यात्रा सुरु हुनुअघि इजरायली रक्षा मन्त्री इस्राइल काट्जले उक्त मिशनलाई “हमासको पक्षमा गरिएको प्रचार” भनेका थिए। उनले गाजामाथिको नौसैनिक नाकाबन्दीलाई राष्ट्रिय सुरक्षाका लागि अनिवार्य भने। संगठन Freedom Flotilla Coalition (FFC) ले जहाज “अवैधानिक रूपमा रोकिएको” भन्दै चालकदललाई “अपहरण” गरिएको आरोप लगाएको छ।

इजरायली विदेश मन्त्रालयले सबै यात्रुहरू सकुशल रहेको बताउँदै सहायता सामग्रीलाई “वास्तविक मानवीय माध्यममार्फत” गाजामा पुर्‍याइने जनाएको छ। संयुक्त राष्ट्रसंघका विशेष मानवअधिकार प्रतिनिधि फ्रान्चेस्का अल्बानेजले “मेडलिनको यात्रा सकिएको हुन सक्छ, तर मिशन बाँकी छ” भन्दै अरु बन्दरगाहहरूबाट पनि गाजामा सहायता पठाउन आग्रह गरेकी छन्।

यो घटनाले गाजाको मानवीय संकट र इजरायलको नाकाबन्दीबीचको अन्तर्राष्ट्रिय बहसलाई पुनः सतहमा ल्याएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update