
काठमाडौँ । मलेसियाको उत्तरी भागमा विद्यार्थी बोकेको एक बस दुर्घटनामा परेर कम्तीमा १५ जनाको ज्यान गएको छ। तीव्र गतिमा आएको बस एक मिनीभ्यानसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो।
मृतकहरूमा सुल्तान इद्रिस शिक्षा विश्वविद्यालयका १४ विद्यार्थी र एक जना बस सहचालक रहेका छन्। घटनामा ३३ जना घाइते छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ। ज्यान गुमाउने अधिकांशको उमेर २१ देखि २३ वर्षका बीचमा रहेको छ।
दुर्घटना आइतबार राति करीब १ बजेपछि भएको हो। एक प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा विद्यार्थीहरू त्रसित हुँदै रोइरहेका र सहयोगको माग गरिरहेका थिए।
प्रधानमन्त्री अनवर इब्राहिमले सम्बन्धित मन्त्रीलाई पीडित परिवारको सहयोगमा जुट्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, "यस्ता दुखद घटनाले हामीलाई अझ सतर्क रहन सिकाउँछ।"