
काठमाडौं । अमेरिकाले गैरआवासीय नागरिकका साथै विद्यार्थी भिसामा समेत कडाइ गरेपछि नेपाली विद्यार्थी अन्यौलमा परेका छन् ।
अमेरिकी सरकारले पछिल्लो पटक आफ्ना दूतावासलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश दिएसँगै नेपाली विद्यार्थी अलमलमा परेका हुन् ।
अमेरिकी विदेश मन्त्रालयको आदेशपछि नेपाली विद्यार्थीले अमेरिका जाने योजना रद्द गर्दै अन्य मुलुकलाई गन्तव्य बनाउने वा नेपालमै उच्च शिक्षा पढ्ने योजना बनाउन थालेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिनुभयो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले कूटनीतिक नियोगहरूलाई जारी गरेको सूचनामा थप निर्देशन नआएसम्म विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश दिनु भएको छ ।
अन्तर्वार्ताको समय पाइसकेका विद्यार्थीको हकमा भने आगामी प्रक्रिया अगाडि बढाउन सकिने उल्लेख छ । अमेरिका पढ्न जाने विद्यार्थीलाई सम्बन्धित मुलुकको दूतावासले भिसा स्वीकृतिका लागि अन्तर्वार्ता सञ्चालन गर्दै आएका छन् ।
कक्षा १२ को परीक्षा सकेर अमेरिका जाने तयारीमा जुटेका विद्यार्थी भने अलमलमा परेका छन् । । टोफल, आईईएलटीएस, पीटीईलगायत कक्षाको तयारी गरे पनि भिसा आवेदन नै दिन नपाइने हो कि भन्ने भन्ने चिन्ताले उनीहरु पिरोलिएका हुन् ।