
भारतको उत्तरपूर्वी राज्य सिक्किममा आइतबार बेलुकीदेखि लगातार परेको भारी वर्षापछि आएको पहिरोले ठूलो क्षति पुर्याएको छ। उत्तरी सिक्किमको छातेनस्थित एक सैनिक क्याम्पमा पहिरो खस्दा तीन सैनिकको मृत्यु भएको छ भने अन्य ६ जना अझै हराइरहेका छन्।
भारतीय समाचार माध्यमहरूका अनुसार यो दुर्घटना बेलुकी सात बजेतिर भएको हो, जब नेपाली सीमाबाट केही टाढा रहेको उक्त क्याम्प पहिरोले बगाएको थियो। घटनाको असरले दुई वटा पुलमा क्षति पुर्याएको छ, जसका कारण सडक यातायात पूर्णरूपमा ठप्प भएको थियो। उद्धार कार्य अझै जारी छ तर हराइरहेका सैनिकको अवस्था बारे केही अत्तोपत्तो लागेको छैन।
सुरक्षा निकायहरू, विशेषगरी सीमा सडक बलले, अवरुद्ध सडकहरू सफा गरेर आवतजावत केही हदसम्म सहज बनाएका छन्। तर प्राकृतिक प्रकोपले सिक्किमका विभिन्न भागमा जनजीवन अस्तव्यस्त भएको छ। मङ्गन जिल्लाका पर्यटकीय क्षेत्रहरू जस्तै लाचेन र लाचुङमा करिब १५ सय पर्यटक फसेका थिए। पीटीआईका अनुसार, तीमध्ये सयभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ।
केही दिनयता उत्तरपूर्वी भारतमा लगातार वर्षा जारी छ। बाढी र पहिरोका कारण सिक्किमसहित अरुणाचल प्रदेश, असम, मिजोराम, मेघालय र नागाल्यान्डमा हालसम्म कम्तिमा ३२ जनाको ज्यान गइसकेको छ। यसपालिको मनसुनले दक्षिण भारत हुँदै उत्तरपूर्वमा प्रवेश गर्दा धेरै ठाउँमा ठूलो जनधनको क्षति भएको देखिएको छ।
असमको श्रीभूमि जिल्लामा कुसियरा नदीको सतह उच्च भएपछि आएको बाढीले दुई जनाको मृत्यु गराएको छ र करिब ४० हजार मानिस प्रभावित भएका छन्। जिल्लाका तीन सयभन्दा बढी गाउँहरू बाढीको चपेटामा परेका छन्। प्रभावितहरूलाई अस्थायी शिविरहरूमा राखिएको छ जहाँ उनीहरूलाई खानपिन, आवास र औषधोपचारको सुविधा दिइएको छ।
यस्तै, असमको सिङ्ला, बाराक र लोङगाई नदीहरूको जलस्तर समेत जोखिमपूर्ण बिन्दु पार गरेको बताइएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार १९ जिल्लाका झण्डै साढे तीन लाख मानिस प्रभावित भएका छन् भने सात सयभन्दा बढी गाउँ डुबानमा परेका छन्। मनिपुर राज्यमा पनि १९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् र करिब तीन हजार घरमा क्षति पुगेको छ।
यसैबीच, भारतको मौसम विभागले आगामी केही दिन असम र मेघालयमा अत्यधिक वर्षाको सम्भावना रहेकाले ‘रेड अलर्ट’ जारी गरेको छ। यो चेतावनीसंगै नागाल्यान्ड, त्रिपुरा, मिजोराम र मनिपुरमा पनि मौसमले सतर्क रहन सुझाएको छ। अरुणाचल प्रदेश, सिक्किम, पश्चिम बंगाल र उत्तराखण्डमा समेत ठूलो वर्षाको पूर्वानुमान गरिएको छ।