Banner Nepal
ओली नेतृत्वको सरकार ढल्ने सपनामा हराएको माओवादी

आजभोलि जतिबेला पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस–एमाले गठबन्धनबाट बनेको  केपी ओली नेतृत्वको सरकार ढलेको सपनामा रमाइरहेका देखिन्छन् ।

सरकार ढलेपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना पनि देखिन्न, तर पनि उनी सरकार ढल्ने कुरामा रमाइरहेका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणसँग जोडेर सरकार ढल्ने अभिव्यक्ति आए पनि देउवा स्वयंले त्यसको खण्डन गरिसकेका छन् । 

तराई केन्द्रित भ्रमणमा रहेका प्रचण्ड एउटा मुखले शान्ति प्रक्रियामा आएको लामो समयसम्म कांग्रेस र एमालेसँग सत्ता सहकार्य गर्दा पार्टी बिग्रिएको भन्दै अब नेपाली विशेषताको समाजवादी क्रान्तिका लागि जनताको बिचमा रहने प्रतिबद्धता देखाएर जनतालाई भ्रमित गरिरहेका छन भने अर्को मुखले यहि वैशाख ११ गते संसदीय दलको बैठकमा आफ्ना पूर्व प्रतिबद्धताबाट पछि हट्दै उनले पार्टी फेरि सत्तामा जानुपर्ने अवस्था आउन सक्ने भनेर दुईजिब्रे कुरा गर्दौ हिडेका छन् ।

यहि सन्दर्भमा घनश्याम भुसालले सटिक टिप्पणी गर्दै भनेका छन – हाम्रो क्रान्तिकारी सहयात्री पार्टी नेकपा माओवादी मधेस दगुर्दै छ, आँखा काठमाडौँमा छ कुनै झ्यालमा बत्ती बल्छ कि भनेर त्यतैतिर हेरेको छ।

प्रचण्डले सरकार ढल्ने प्रमुख आधार भनेको  प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा जनताको संविधान निर्माण र लागू गर्नु, नाकाबन्दीको बिरोध गर्नु, चुच्चे नक्सा निर्माण गर्नु, पारवहन सन्धि र बि आर आई सम्झौता गर्नु लगायतका आफ्नो देश र जनतालाई हित हुने काम गरेकाले भारत रिसाएको छ, अहिलेसम्म बोलाएको पनि छैन त्यसैले यो सरकार धेरै दिन टिक्दैन भन्दै हिड्नु स्वाभाविकै पनि होला ।

किनकी माओवादीको न्वारन, शिक्षादिक्षा देखि सिँहासन सम्म मालिकलेनै गरिदिएकोले मुलुक र नागरिक प्रती गैरजिम्मेवार भएपनी मालिक प्रती वफादार हुनु स्वाभाविककै हो, तर कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रचण्ड सँगको सहकार्यमा सरकारमा रहदा आफ्नै पार्टीका नेताहरुलाई एकएक गर्दै जेल हाल्न खोजेको बिर्सिएका छैनन् होला र उनमा भएको ईमान्दारिता र दृढ अडानका कारण पनि कसैले सरकार ढाल्ने त के हल्लाउन पनि सक्दैन।

बचनबहादुर सिंह एमालेका युवा नेता हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update