Banner Nepal
ट्रम्पको २० बुँदे युद्धविराम योजना : विपिनसहित सबै बन्दीको अवस्था सार्वजनिक हुने सम्भावना

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको २० बुँदे युद्धविराम योजना कार्यान्वयन भएमा गाजामा रहेका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ।

ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार राति वासिङटनमा भएको वार्तापछि सहमत भएका थिए। प्रस्तुत योजनामा बन्दीहरूको तत्काल रिहाइलाई पहिलो प्राथमिकतामा राखिएको छ।

योजनाको तेस्रो बुँदामा हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दीहरू (जिउँदा वा मृत) छोड्नुपर्ने स्पष्ट उल्लेख छ। यसको अर्थ, हमासले सहमति जनाए नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था तीन दिनभित्र खुल्नेछ। विपिनलाई २०२३ अक्टोबर ७ को आक्रमणपछि हमासले बन्दी बनाएको हो।

यसको बदलामा इजरायलले २५० आजीवन कैदी र १७०० अन्य कैदीलाई मुक्त गर्ने र प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासी शव फिर्ता दिने व्यवस्था योजनामा समावेश छ।

गत असोज ४ मा हमासले गाजामा रहेका ४८ जना इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गर्दा विपिनको फोटोसमेत देखिएको थियो। त्यसले उनको अवस्थाबारे थप चिन्ता बढाएको थियो।

ट्रम्पले युद्ध रोक्ने, हमासका सबै हतियार हटाउने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव गरेका छन्, जसको अध्यक्षता उनी स्वयं गर्ने बताइएको छ। तर, हमासले अझै औपचारिक प्रस्ताव नपाएको दाबी गर्दै हतियार नछाड्ने स्पष्ट पारेको छ।

ट्रम्पले चेतावनी दिएका छन्, “यदि हमासले योजना अस्वीकार गर्‍यो भने, इजरायललाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।” नेतान्याहूले पनि योजनालाई अस्वीकार गरे हमासविरुद्ध आक्रामक कदम चाल्ने चेतावनी दिएका छन्।

यो योजना कार्यान्वयन भए गाजाको युद्ध अन्त्य हुने, बन्दीहरूको अवस्था स्पष्ट हुने र विपिन जोशीलाई घर फर्काउने सम्भावना बढ्ने देखिन्छ। तर, हमासको अस्वीकारले यसको भविष्य अझै अनिश्चित बनेको छ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update