
काठमाण्डौ । तालिबान सरकारले सोमबारदेखि अफगानिस्तानभर इन्टरनेट तथा मोबाइल नेटवर्क सेवा पूर्ण रूपमा बन्द गरिदिएको छ। ‘काबुल नाउ’का अनुसार काबुल, हेरात, मजार-ए-शरीफ, उरुजगानसहितका सहरहरूमा फाइबर–अप्टिक सेवा ठप्प भएको छ।
सुरुमा मोबाइल डेटा केही समय चले पनि सिग्नल टावरहरू बन्द गरिएपछि सम्पूर्ण संचार सेवा अवरुद्ध भएको हो। तालिबानले यस कदमलाई ‘अनैतिक गतिविधि रोक्ने’ उद्देश्यसहित गरिएको बताएको छ। यसअघि बल्ख, कन्दाहार, हेलमन्द, उरुजगान र निमरोजका केही प्रान्तमा मात्र फाइबर–अप्टिक बन्द गरिएको थियो। तर अब मोबाइल नेटवर्कसमेत बन्द गर्दै देशभर संचार ब्ल्याकआउट गरिएको छ।
सन् २०२४ सम्म अफगानिस्तानमा बनेको ९,३५० किलोमिटर लामो फाइबर–अप्टिक नेटवर्कलाई अहिले पूर्ण रूपमा रोकिएको छ। यसले अन्तर्राष्ट्रिय कलसमेत असम्भव बनाएको छ। नेटब्लक्सका अनुसार, अफगानिस्तानको इन्टरनेट कनेक्टिभिटी सामान्य स्तरको जम्मा १४ प्रतिशतमा झरेको छ।
विशेषगरी महिला तथा बालिकाको शिक्षा सबैभन्दा बढी प्रभावित हुने बताइएको छ। तालिबानले पहिले नै केटीहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइसकेको छ भने अहिले इन्टरनेट बन्द हुँदा अनलाइन कक्षा पनि बन्द हुने भएको छ। धेरै युवतीहरूले अंग्रेजी, कोडिङ र ग्राफिक डिजाइनजस्ता अनलाइन अध्ययन गर्न नसक्ने पीडा व्यक्त गरेका छन्।
यसैगरी, स्थानीय व्यवसाय, बैंकिङ सेवा, पासपोर्ट कार्यालय र सरकारी निकायहरूको कामकाजमा पनि गम्भीर असर परेको छ। विश्लेषकहरूका अनुसार, यो कदम असन्तुष्टि र विरोध दबाउने प्रयासका रूपमा लिइएको छ। ‘कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्स’ले यस्ता निर्णयले पत्रकारिता र जनताको सूचनाको अधिकार कमजोर बनाउने चेतावनी दिएको छ।