Banner Nepal
अमेरिकी विदेशमन्त्री रुबियोको इजरायल भ्रमण

काठमाण्डौ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमणमा रहेका बेला इजरायली सेनाले आइतबार उत्तरी गाजामा आक्रमण तीव्र पार्दा कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा गाजाका अग्ला भवनहरू भत्किएका छन् र सयौँ बासिन्दा घर छाड्न बाध्य भएका छन् ।

रुबियोले भ्रमणअघि गाजामा इजरायलको रणनीति बारे प्रत्यक्ष जवाफ खोज्ने बताउनुभएको थियो । कतारमा हमास नेतामाथि गरिएको इजरायली आक्रमणपछि सुरु भएको उहाँको दुई दिने भ्रमणले वाशिङ्टनको इजरायलप्रति समर्थन झन् प्रष्ट पारेको देखिन्छ । आगामी साताको संयुक्त राष्ट्र महासभामा हुने अपेक्षित ‘प्यालेस्टिनी राज्य’ विषयक बहसलाई यसले थप संवेदनशील बनाएको छ ।

गाजाको आक्रमणमा देइर अल-बलाहमा एउटै परिवारका छ सदस्यसहित कम्तीमा १३ जना मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् । इस्लामिक युनिभर्सिटीको भवन र अन्य तीन अग्ला संरचना भत्काइएको छ । इजरायली सेनाले ती भवनहरू हमासले निगरानी केन्द्रका रूपमा प्रयोग गरेको दाबी गरेको छ, तर प्रमाण प्रस्तुत गरेको छैन ।

यसैबीच, गाजामा कुपोषण र भोकमरी चर्किँदै गएको छ । पछिल्ला २४ घण्टामा दुई वयस्कको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युद्ध सुरु भएदेखि सयौँ बालबालिकासहित हजारौँले भोक र कुपोषणका कारण ज्यान गुमाइसकेका छन् । सहायता सामग्री पुगे पनि पर्याप्त नभएको भन्दै राहत संस्थाले चिन्ता व्यक्त गरेका छन् ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको इजरायल आक्रमणबाट सुरु भएको हो । त्यसयता गाजामा ६४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update