Banner Nepal
सुधार नगरे एमाले ‘स्कुटरमै अट्ने’ चेतावनी

काठमाडौँ — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र रहेका कमजोरी सुधार नगरे आगामी निर्वाचनमा एमालेको अवस्था निकै कमजोर हुने चेतावनी दिएका छन्।

शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्ला तीनवटा निर्वाचनको परिणामले एमाले मात्र नभई पुराना राजनीतिक दलहरूको अवस्था खस्कँदै गएको बताए। कार्यशैली परिवर्तन नगर्ने हो भने सबै दलहरू ‘मलामी’ जाने अवस्थासम्म पुग्न सक्ने उनको भनाइ थियो।

पाण्डेले २०७४ सालमा ठूलो सफलता हासिल गरे पनि त्यसलाई जोगाउन नसकिएको उल्लेख गर्दै अहिले पार्टीको जनाधार क्रमशः घट्दै गएको टिप्पणी गरे। उनले विगतको अवस्थासँग तुलना गर्दै अबको स्थितिमा सुधार नभए अर्को निर्वाचनमा पार्टीको प्रतिनिधित्व ‘स्कुटरमै अट्ने’ अवस्था आउन सक्ने व्यङ्ग्य गरेका हुन्।

उनले नेतृत्वले कमजोरी स्वीकार गरी सुधारतर्फ अग्रसर नभए कार्यकर्ताहरूमा निराशा बढ्ने र चुनाव लड्न इच्छुक उम्मेदवार समेत अभाव हुने चेतावनी दिए।

पाण्डेले विगतमा गलत नीतिगत निर्णयहरूका कारण वर्तमान अवस्था सिर्जना भएको भन्दै अब सही दिशातर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। साथै, संविधानमै दलका अध्यक्ष वा प्रधानमन्त्रीको कार्यकाल दुईपटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्न नसक्नु ठूलो कमजोरी भएको उनले स्वीकार गरे।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update