Banner Nepal
फरक दलबाट उम्मेदवार बने दाजुभाइ

दाङ जिल्लाबाट विभिन्न राजनीतिक दलका पाँच जनाको नाम प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ। विभिन्न दलहरूले आफ्नो कोटाअनुसार दाङका नेताहरूको नाम निर्वाचन आयोगमा पठाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दाङबाट सुरेन्द्र चौधरी, क्रान्तिशिखा धिताल र खिमा विकको नाम समानुपातिक सांसदका लागि सिफारिस गरेको छ। सुरेन्द्र चौधरी दाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचन लडेका योगेन्द्र चौधरीका सहोदर दाजु हुन्।

उक्त निर्वाचनमा रास्वपाका देवराज पाठक ४२ हजार ६०२ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेका थिए। योगेन्द्र चौधरी नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री पनि हुन्।

कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार रहेका योगेन्द्रका सहोदर दाजु सुरेन्द्रलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो। फरक–फरक दलबाट उम्मेदवार बनेपछि दाजुभाइबीचको सम्बन्ध चिसिएको पारिवारिक स्रोतले जनाएको छ।

रास्वपाबाट समानुपातिक सूचीमा परेकी क्रान्तिशिखा धिताल तुलसीपुरकी हुन् भने खिमा विक दंगीशरण गाउँपालिकाकी हुन्।

यस्तै नेकपा (एमाले) ले घोराही निवासी मुस्लिम महिला साजिदा सिद्दिकीको नाम समानुपातिक सांसदका लागि सिफारिस गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले भीमकुमारी बुढाको नाम निर्वाचन आयोगमा पठाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update