राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा कार्यक्रम सञ्चालन गरी सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षण दिने जनाएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई उनीहरूको जिम्मेवारी, संसदीय भूमिका तथा कार्यशैलीबारे स्पष्ट पार्न प्रशिक्षण कार्यक्रम तय गरिएको हो।
पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ। प्रशिक्षण कार्यक्रम सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुने बताइएको छ।
कार्यक्रममा संसद्मा पार्टीको उपस्थिति प्रभावकारी बनाउने, जनसरोकारका विषयलाई कसरी उठाउने तथा संसदीय प्रक्रियालाई कसरी व्यवस्थित रूपमा अघि बढाउने भन्ने विषयमा विज्ञहरूले प्रशिक्षण दिने योजना रहेको छ।
रास्वपाले यस कार्यक्रमलाई आफ्नो संसदीय यात्राको महत्वपूर्ण तयारीका रूपमा लिएको जनाएको छ। महामन्त्री बुर्लाकोटीले सबै सांसदहरूलाई निर्धारित समय र तालिका अनुसार तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

