प्रतिनिधि सभामा गुल्मी–१ बाट निर्वाचित सांसद सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले हालै गरेका नियुक्तिसम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयले सरकारका यसअघिका सकारात्मक योगदान ओझेलमा पर्ने अवस्था आएको भन्दै उनले निर्णय सच्याएर उदारता देखाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन्।
सरकारले प्रधानमन्त्रीका स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषमा नियुक्त गर्ने तथा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। अर्याल पनि गुल्मी जिल्लाकै निवासी हुन्।
सांसद ढकालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई सम्मान व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
उनले लेखेका छन्, “आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छन्। हजुरले देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णय सच्याएर उदारता देखाउनुहुनेछ भन्ने कामना गरेका छौँ।”
ढकालले अनुभव वा विज्ञताविना प्रधानमन्त्रीका स्वकीय सचिव भएको आधारमा प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकायको नेतृत्व दिन नहुने टिप्पणी गरेका छन्। उनले नातावाद र कृपावादको अन्त्य हुनुपर्नेमा जोड दिँदै निर्णय पुनर्विचार हुने अपेक्षा व्यक्त गरेका छन्।

