Banner Nepal
काँकडभिट्टा नाकामा पर्यटक आवागमन बढ्दो, आठ महिनामा ६ हजारभन्दा बढी प्रवेश

पूर्वी सीमा नाका काँकडभिट्टा हुँदै चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईका अनुसार साउनदेखि फागुनसम्मको अवधिमा अमेरिका, बेलायत, भूटानलगायत विभिन्न मुलुकका पर्यटक पूर्वी नाका प्रयोग गरेर नेपाल प्रवेश गरेका हुन्।

उनका अनुसार साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक उक्त नाकाबाट नेपाल भित्रिएका छन्।

सोही अवधिमा अध्ययन तथा विभिन्न कामका सिलसिलामा विदेशमा रहेका तीन हजार १३३ नेपाली नागरिक पनि यही नाका हुँदै स्वदेश फर्किएका छन्। अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छ भने एक हजार ८४७ नेपाली नागरिक विदेश गएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका हुँदै आठ हजार ७२३ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका थिए।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update