कात्तिक ३ गते अष्ट्रियाका चार र एकजना जर्मन गरी पाँच विदेशी आरोहीको टोलीले ६ हजार १६९ मिटर उचाइको सो हिमाल शिखरमा पाइला टेकेका हुन्। सफल आरोहीहरूमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड रहेका छन्।
पहिलोपटक मानवीय पाइला पुगेको खबरले स्थानीयवासी उत्साहित बनेका छन्। स्थानीय तुण्डुल तामाङका अनुसार, गाउँ वरपर चराचराउन मात्र पुगेको यो हिमालको शिखरमा मान्छे पुगेको दृश्य कल्पना मात्र थियो, तर अब वास्तविकतामा बदलिएको छ। “अब यस हिमालमा पनि पर्यटक र आरोही आउँछन् भन्ने आशा बढेको छ,” उहाँले भन्नुभयो।
रिजन ट्रेक प्रालिको व्यवस्थापनमा सम्पन्न यो आरोहणले मुगु क्षेत्रमा पर्यटनको नयाँ सम्भावना थपिएको मुगुम कार्मारोङका पूर्व वडाध्यक्ष कार्मा तामाङ बताउनुहुन्छ। उहाँका अनुसार, अब सरकार र सरोकारवालाले यस क्षेत्रको प्रचार–प्रसारमा ध्यान दिनु आवश्यक छ।
आरोहीमध्ये एक २८ वर्षीय अष्ट्रियाली सेन्द्रोकले कोइकी हिमालको सौन्दर्य र शुद्धताले आफू प्रभावित भएको बताए। “मैले धेरै हिमाल चढेँ, तर यहाँको शान्त वातावरण, सफाइ र प्राकृतिक ताजगी अनौठो अनुभूति थियो,” उहाँले भने।
पथप्रदर्शक पासाङ शेर्पाका अनुसार, आरोहणका क्रममा मौसम अनुकूल रह्यो र मार्ग सजिलो तथा दृश्य अनुपम रहे। विदेशी आरोहीहरूले फेरि फर्किने इच्छा व्यक्त गर्दै क्षेत्रको सुन्दरता र सम्भावनाको प्रशंसा गरेको उनले बताए।
पर्यटन व्यवसायीहरू भन्छन्, पहिलो सफल आरोहणसँगै उचित प्रचार–प्रसार र पूर्वाधार विकास भएमा कोइकी हिमाल मुगुको नयाँ पर्यटक केन्द्र बन्न सक्छ।


