Banner Nepal
अन्नपूर्ण क्षेत्रमामा पर्यटन पुनःउकास, चार महिनामा १६ हजारभन्दा बढी विदेशी आगमन

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मनाङमा हाल विदेशी पर्यटकको आगमन तीव्र रूपमा बढेको छ। वर्षायाम सकिएर मौसम खुलेसँगै अन्नपूर्ण पदमार्ग हुँदै आउने पर्यटकको दैनिक संख्या उल्लेखनीय वृद्धि भई स्थानीय होटल, यातायात र व्यापार–व्यवसाय समेत लाभान्वित भएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका तथ्याङ्कअनुसार यो सिजन पर्यटनका हिसाबले मनाङ अत्यन्त सक्रिय देखिएको छ।

अन्नपूर्ण पदमार्गको उच्च सिजन मानिने साउनदेखि कात्तिकसम्म मनाङमा पर्यटक आगमन हरेक वर्षको जस्तै यसपटक पनि बाक्लो रहेको छ। यही अवधिमा मनाङ प्रवेश गर्ने विदेशी पर्यटकको कुल संख्या १६ हजार २९६ पुगेको छ। तीमध्ये सार्क देशका ८१२ पुरुष र १७७ महिला छन्। अन्य मुलुकका पर्यटकमध्ये ९ हजार ६९१ पुरुष, ६ हजार ६०१ महिला तथा अन्य ४ जना रहेका छन्।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार चार महिनामा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका छन्। आगमनका आधारमा यस वर्ष पनि इजरायल, फ्रान्स र जर्मनी शीर्ष तीन स्रोत मुलुक बनेका छन्—इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ पर्यटक मनाङ पुगेका छन्। यसले मनाङप्रतिको युरोपेली तथा मध्यपूर्वी रुचि अझ स्पष्ट पारेको छ।

स्थानीय होटल व्यवसायी फुर्वा लामाका अनुसार सिजनमा प्रायः कोठा अभाव हुने अवस्था आइपर्ने गर्छ। थोरङ्ला पास, तिलिचो ताल, बेस क्याम्प, भ्राका गुम्बा, मनाङ गाउँलगायतका प्रमुख गन्तव्यमा चहलपहल बढेसँगै स्थानीय अर्थतन्त्र थप गतिशील बनेको बताइएको छ।

उच्च मौसम सुरु भएसँगै दैनिक चारदेखि पाँच सयपर्यन्त पर्यटक मनाङ पुग्ने गरेको अनुमान छ। आगामी केही सातासम्म मौसम सामान्य रहेमा आगमन अझ बढ्ने व्यवसायीको आकलन छ। स्थानीय तह तथा सरोकारवाला निकायले पर्यटक सुरक्षा, सूचना सेवा, सडक तथा पूर्वाधार व्यवस्थापनमा प्रभावकारी पहल गरे मनाङको पर्यटन सम्भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update