Banner Nepal
दाङमा ‘सूर्य’ झण्डा जलाइएको भन्दै एमालेको कडा आपत्ति

काठमाण्डौ — नेकपा एमालेले दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति कडा आपत्ति जनाएको छ। बिहीबार राति भएको उक्त घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताको संलग्नता रहेको दाबी गर्दै एमालेले यसलाई निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भनेको छ।

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपमानजनक नाराबाजी गरिएको र महासचिव शङ्कर पोखरेलको गृहनगरमै झण्डा दहन गरिएको उल्लेख गरिएको छ। यस्तो गतिविधिलाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्यको संज्ञा दिइएको छ।

विज्ञप्तिमा लोकतान्त्रिक प्रतिस्पर्धा सुन्दर पक्ष भए पनि प्रतिस्पर्धाका नाममा स्थापित राजनीतिक शक्तिको आस्थामाथि आघात पुर्‍याउने कार्य लोकतन्त्रको सीमाभित्र नपर्ने टिप्पणी गरिएको छ। एमालेले उक्त घटनाले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने र चुनावी द्वन्द्व निम्त्याउने खतरा रहेको जनाएको छ।

एमालेले आफू अनुशासित पार्टी भएकाले उत्तेजित नभएको उल्लेख गर्दै झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै निर्वाचन आयोगले सम्बन्धित दलसँग प्रष्टीकरण मागी जवाफ सार्वजनिक गर्नुपर्ने आग्रह गरिएको छ।

घटनाले सरकार भयरहित र निष्पक्ष वातावरणमा मतदान गराउने दायित्व निर्वाह गर्न सक्षम छ कि छैन भन्ने प्रश्न उब्जाएको शाहीको भनाइ छ। संलग्न पक्षमाथि कारबाही नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार, निर्वाचन आयोग र सम्बन्धित दलले लिनुपर्ने एमालेको चेतावनी रहेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update