Banner Nepal
मनोज ताम्लि हटे, झापा–४ मा पुनः एलपी साँवामाथि एमालेको भरोसा

काठमाण्डौ — नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट एलपी साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकपछि सार्वजनिक सूचीमा मनोज ताम्लिको नाम समावेश भए पनि अन्ततः सो क्षेत्रमा साँवाकै उम्मेदवारी कायम गरिएको एमाले स्रोतले जनाएको छ।

यसअघि सोही क्षेत्रबाट निर्वाचन जितिसकेका साँवाको स्थानमा नयाँ उम्मेदवार अघि सारिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको थियो। कार्यकर्ता र नेताहरूको दबाबपछि नेतृत्वले निर्णय पुनरावलोकन गर्दै साँवालाई नै उम्मेदवार बनाउने निष्कर्षमा पुगेको जनाइएको छ।

एलपी साँवाले २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–४ बाट लगातार दुई पटक विजय हासिल गरेका थिए। २०७० सालको निर्वाचनमा भने उनी पराजित भएका थिए।

पार्टीभित्र उत्पन्न असन्तुष्टि समाधानका लागि गरिएको यो निर्णयलाई एमालेले संगठनात्मक एकता र क्षेत्रीय जनमतको सम्मानका रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update