Banner Nepal
चुनाब नलड्ने ह्रदयराम थानीको घोषणा

काठमाण्डौ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुर्खेत क्षेत्र नं. २ का पूर्वसांसद हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले भाद्र २३, २०८२ मा भएको जेन्जी मुभमेन्टपछि मुलुक अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्। वर्तमान परिस्थितिमा देशको स्थिरता कायम गर्न र संविधानलाई सही दिशामा अघि बढाउन तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनु नै महत्वपूर्ण निकास हुने उनको धारणा छ।

यद्यपि, स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले आफू चुनावी प्रक्रियामा सक्रिय हुन नसक्ने थानीले स्पष्ट पारेका छन्। पछिल्ला करिब दुई महिनादेखि खुट्टाको नसा सम्बन्धी समस्याका कारण चिकित्सकको सल्लाहअनुसार घरमै फिजियोथेरापी उपचार गराइरहेको र सामान्य हिँडडुलसमेत कठिन भएको उनले जनाएका छन्। यस कारण माघ ६ गते हुने मनोनयन दर्ता तथा त्यसपछिको चुनावी अभियानमा सहभागी हुन नसक्ने भएकाले उम्मेदवारी नदिने निर्णय लिएको उनको भनाइ छ।

थानीले आफ्ना समर्थक, शुभेच्छुक र मतदाताप्रति विश्वास, साथ र सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा अझ सक्रिय भएर सबैको साथमा रहने प्रतिबद्धता पनि जनाएका छन्। साथै, उनले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update